राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३ बैशाख, २०८१
काठमाडौं। नागढुंगा सुरूङ मार्गको मुख्य सुरूङ वारपार (ब्रेक थ्रु) भएको छ । निर्माण सुरु भएकाे ५३ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा ‘ब्रेकथ्रु’ गरिएको हो।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङ मार्गको प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डको सहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो।
सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ । सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए। ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरुङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताए ।
सुरुङ निर्माणपश्चात् सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउने बताए ।
२२ अर्ब रुपैयाँमा ठेक्कामा सुरू भएको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए ।