राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १४ जेष्ठ, २०८१
काठमाडौँ, जेठ १४ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु भएसँगै विपद् जोखिममा परेका जनतालाई राहत र उद्धारका लागि गृह मन्त्रालयको नेतृत्वमा 'टास्क फोर्स' बनाउने बताएका छन्।
सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुनका समयमा हुने विपद् जोखिमसम्बन्धी सरोकारवालसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।
वर्षायाम सुरु भएसँगै मनसुनजन्य विपतमा जनताको उद्धार र राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी तीन दिनभित्र टास्क फोर्स बनाउने गृहमन्त्रीले जानकारी दिएका हुन् ।
मन्त्री लामिछानेले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए । उनले टास्क फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिए। उनले अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिए ।
छलफलमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भएपनि व्यवहारमा लागू गर्न समस्या रहेको बताए ।