राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ असार, २०८१
काठमाडौँ, असार १३ । सरकारले अब घर जग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । घर जग्गा कारोबार लगायत बैकिङ कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ ।
हालसम्म नागरिकताको प्रमाणपत्रका आधारमा सेवा प्राप्त हुँदै आएकोमा अबदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । गृह मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै माघ १ गतेदेखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभिन्न जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तीभरण, राजस्व (व्यक्तीगत आयकर दर्ता), सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणसम्बन्धी सेवा प्राप्त गर्न आगामी साउन १ देखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भट्टराईले बताए ।
त्यस्तै बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन, सिमकार्ड, सामाजिक सुरक्षा, सवारी चालक अनमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा आगामी साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेका थियो भने दोस्रो चरणमा २०८१ माघ १ गतेदेखि थप ३८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
तेस्रो चरणमा २०८२ साउन १ गतेदेखि देशका ७७ वटै जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने गृह मन्त्रालयले जनाएको छ ।