राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ९ माघ, २०८०
काठमाण्डौं। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावको लागि मौन अवधि शुरु भएको छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा कुनै पनि मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।
आयोगका अनुसार चुनावको सबै तयारी पूरा भएको छ । चुनावमा प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्न रहेको निर्वाचन आयोगले जनाएको छ।
मतपत्र र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र तयार गरी मतदान केन्द्रमा पठाइसकिएको छ ।
प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, वागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।
सातै प्रदेशमा कुल २०२५ मतदाता छन् ।