राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २ जेष्ठ, २०८१
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै बलात्कारको मुद्दामा उच्च अदालत पाटनले संदिपलाई सफाइ दिएको हो।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दुवै पक्षको बहस सुने पछि उच्च अदालत पाटनले सन्दीपलाई निर्दोष ठहर गर्यो ।
उच्च अदालतको फैसलापछि सन्दीप लामिछाने फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।