राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १४ जेष्ठ, २०८१
काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने भन्दै सर्वोच्चले उनले पाएको ३० मतले विश्वासको मत नपुग्ने ठहर गरेको छ ।
सभामुखले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेशसभामा घोषणा गरेपछि काँग्रेस संसदीय दलका नेता पाण्डेले वैशाख २५ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।