राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २१ चैत्र, २०८०
काठमाडौं । १८ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले मंगलबार केसीविरुद्धको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।
इलाका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत रहेका बेला (डिएसपी) केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा पक्राउ गरेको थियो। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १३ भदौमा मुद्दा दायर गरेको थियो । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला गरेको छ ।
उनी २५ मंसिर २०७९ मा घुससहित पक्राउ परेका थिए। एक व्यवसायीको सुन बरामद गरी फिर्ता दिन उनले आठ लाख ५० हजार नगद र नौ लाख ५० हजारको चेक लिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलबाट सरुवा भइसकेपछि उनले त्यसरी घुस लिएका हुन् । प्रहरी प्रधान कार्यालयकै टोलीले उनलाई पक्राउ गरी अख्तियारमा फाइल बुझाएको थियो ।
सो मुद्दामा सुरुमा सरकारी साक्षी बनेका खीलेन्द्रसिंह जिसीले पनि अदालतमा बयान फेरेपछि अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको थियो । उनी पनि दोषी ठहर भएका छन् ।
नेपाल प्रहरीले यसअघि नै उनलाई बर्खास्त गरिसकेको छ । उनलाई दुई वर्ष कैद र ८ लाख ५० हजार जरिवाना भएको छ।