राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १६ श्रावण, २०८१
काठमाडौं, साउन १६ । गएराती परेको अविरल भारी वर्षाका कारण काठमाडौं उपत्यकाकाका विभिन्न स्थान डुबानमा परेको छ । काठमाडौंको बागमती करिडोर ठाउँ ठाउँमा अवरुद्ध भएको छ भने थापाथली र बल्खु किनारका वस्ती डुबानमा परेका छन् ।
काठमाडौंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थानमा पनि जलमग्न भएको छ। यस्तै, भक्तपुरको सल्लाघारी, जगाती, बाराहीस्थानमा पनि दर्जनौं घर डुबानमा परेका छन् । इबामुरा अस्पतालमा बाढी पसेर सेवा नै प्रभावित भएको छ भने विद्यालयहरु पनि डुबानमा परेका छन् ।
बागमती, धोबीखोला लगायत उपत्यकाका खोला किनारका आसपास क्षेत्र डुबानमा परेको छ। भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, काठमाडौंको बागमति करिडोर क्षेत्रका कतिपय सडकमा पानी भरिएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।


