शुक्रबार, ६ मंसिर, २०८२

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले नौ ९ वर्षभित्रै ४७ अर्ब नाफामा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ श्रावण, २०८१

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले नौ ९ वर्षभित्रै ४७ अर्ब नाफामा

तस्विर: राष्‍ट्रीय सन्‍देश

काठमाडौं, साउन २५ । आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले नौ वर्षको बीचमा ४७ अर्ब नाफा कमाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्‍मेलनमा प्राधिकरणले नाफा कमाएको जानकारी दिएका हुन् ।

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्षे कार्यकाल पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए ।

उनले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गरे। उनले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिए।

‘गत आर्थिक वर्षमा मात्रै १३ अर्ब ३१ करोड नाफा कमायो । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छ’, प्रवन्ध निर्देशक घिसिङले भने, ‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको छ ।’प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी बिजुली निःशुल्क गरिएको छ ।

घिसिङका अनुसार इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्नसक्ने क्षमतामा देखिएको छ ।

आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ थियो । अहिले ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गराएको छ । देशभर रहेको आफ्नो जग्गाको एकिन गरी करिब ४० हजार २०० रोपनी जग्गाको पहिचान भएको प्रवन्ध निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्षमात्र काठमाडौं उपत्यकाभित्र करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा पाएको छ ।

नेपालले औपचारिक रुपमा विद्युत निर्यात सन् २०२१ नोभेम्बरबाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आवमा १ अर्ब ९४ करोड युनिट विद्युत भारत पठाइएको र त्यसबाट १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको घिसिङले बताए ।

Download the PDF
advertisement_1680627706.gif