राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ मंसिर, २०८०
काठमाण्डौ – आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै आलु र प्याजका व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका थिए । आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका थिए । आलु र प्याजको भ्याट विवादले गर्दा आयात र बिक्री बन्द हुँदा उपभोक्ता महँगोमा आलु र प्याज किन्न बाध्य छन् ।
तर आलु र प्याजका व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा समेत भ्याट लगाएको दाबी गरेका छन् । आयातकर्ता नै हड्तालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले आलु र प्याज आएको छैन । नेपालमा देशभित्र उत्पादन भएको बाहेक भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ ।
यसैबीच अहिले भर्खर मात्र भारत सरकारले प्याजको निर्यातमा लगाएको पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा भारतले ४० प्रतिशत निर्यात कर लगाउदा मूल्य वृद्धि भैसकेओ अहिले निर्यातमा पूर्ण रोक लगाउदा प्याजको मूल्य अझै आकासिने आंकलन गरिएको छ ।