राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २२ श्रावण, २०८१
काठमाडौं, साउन २२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सबैमा आग्रह गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लाहरूमा रात्रिकालीन बस नचलाउन सुचना मार्फत अपनाउन आग्रह गरेको छ ।
विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ। विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ।
प्राधिकरणले भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाका तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
यस्तै भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्स लगायतका जरुरी टेलिफोन नम्बर राख्न र आपत् परे तुरुन्तै फोन गर्न आग्रह गर्नुका साथै दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान आग्रह गरेको छ ।
