राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ असार, २०८१
काठमाडौँ, असार २१ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने र बाढीको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासीपूर्व र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ ।
त्यस्तै जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।