राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ८ भाद्र, २०८१
काठमाडौं, भदौ ८ । तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ । शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो ।
शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो।वायुसेनाको विमानमार्फत २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।
भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से घाइतेको अवस्था बुझन र मृतकको शव लिनका लागि बिहान नेपाल आएकी थिइन् ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको थियो । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।