शुक्रबार, ६ मंसिर, २०८२

रसुवा बाढी अपडेट: रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ असार, २०८२

रसुवा बाढी अपडेट: रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

२४ असार २०८२, काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार टोलीले उद्दार गरेको हो ।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ ।

त्‍यस्‍तै सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको जानकारी दिइएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएको छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जिल्ला प्रशासन कार्यालय रसुवा जनाएको छ ।

advertisement_1676551694.gif