बुधबार, २१ आश्विन, २०८३

कांग्रेस देउवा समूहको निर्वाचन निर्देशिका सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ११ आश्विन, २०८३

कांग्रेस देउवा समूहको निर्वाचन निर्देशिका सार्वजनिक

२०८३ असोज ११ काठमाडौँ I समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह केन्द्रीय सदस्य निर्वाचन समितिले १५ औँ महाधिवेशनका लागि ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ जारी गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया र उम्मेदवारी दर्ताका मापदण्ड तय गरेको छ ।

डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समिति मातहत रहेको सो समितिले सार्वजनिक गरेको निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका उम्मेदवारलाई आवश्यक पर्ने प्रस्तावक र समर्थकको सङ्ख्या तोकेको हो ।

निर्देशिकामा समेटिएका मनोनयन पत्रका ढाँचा (अनुसूची १९ देखि २२ सम्म) अनुसार उच्च पदहरूमा उम्मेदवारी दर्ताका लागि पार्टीभित्र फराकिलो समर्थन अनिवार्य गरिएको छ । जसअनुसार, केन्द्रीय सभापतिको उम्मेदवार बन्नका लागि सबैभन्दा बढी अर्थात् ७ जना प्रस्तावक र ७ जना समर्थक अनिवार्य गरिएको छ । यो व्यवस्थाले सभापति पदका आकांक्षीले कम्तीमा १४ जना महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष हस्ताक्षरसहितको साथ देखाउनुपर्ने भएको छ ।

केन्द्रीय तहका अन्य पदाधिकारीका लागि भने सभापतिको तुलनामा केही सहज प्रावधान राखिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारी दिनका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक गरी कुल १० जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्नेछ । त्यसैगरी, केन्द्रीय सदस्य पदका आकांक्षीले ४ जना प्रस्तावक र ४ जना समर्थक गरी कुल ८ जना प्रतिनिधिको समर्थन जुटाउनुपर्नेछ ।

प्रदेशदेखि स्थानीय तहसम्मका समितिहरूका लागि भने अलि फरक प्रकृतिको ढाँचा निर्धारण गरिएको छ । मनोनयन पत्र दर्ता गर्दा प्रस्तावक र समर्थक अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधि हुनुपर्नेछ भने उम्मेदवारको नाम, मतदाता क्रमसङ्ख्या, क्रियाशील सदस्यता नम्बर, वारिसनामाको स्पष्ट विवरण र निर्धारित उम्मेदवारी शुल्क तिरेको रसिद अनिवार्य रूपमा संलग्न गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

देउवा समूहले आगामी असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

advertisement_1676551694.gif