राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २२ काठमाडौँ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएका कारण मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको थियो । तर वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय बिहान १० बजेका लागि सारिएको थियो । अहिले पुनः तयारी पूरा नभएको भन्दै दिउँसो १ बजेसम्मका लागि मतदान स्थगित गरिएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी ७ हजार २५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको हो ।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन् ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा उम्मेदवारी परेको छ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ ।