राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १८ चैत्र, २०८२
२०८२ चैत्र १८, काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
दलको नेता चयन भएपछि बैठकका निर्णय सार्वजनिक गर्दै बादलले भने, ‘आजको बैठकले संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको छ । दल नेताको रूपमा मलाई चयन गरिएको छ । निकट भविष्यमा दुवै सदनका माननीय सदस्यहरू राष्ट्रिय सभा र प्रतिनिधिसभाका माननीयज्यूहरूलाई अभिमुखीकरण कार्यक्रम यही २१ गते गर्ने तय गरिएको छ ।’
सुहाङले अब नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी गरेका थिए । प्रतिनिधिसभामा एमालेका २५ सांसद छन् ।
यसअघि सुहाङ नेम्वाङ ले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिए । निर्वाचनपछि नेम्वाङले थापालाई खादा ओढाएर बधाई व्यक्त गरेका छन्।