बुधबार, २१ आश्विन, २०८३

प्राविधिक शिक्षा सुधारका लागि नीति र कानुनमै परिमार्जन गरिनेछ : शिक्षामन्त्री पोखरेल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ५ आश्विन, २०८३

प्राविधिक शिक्षा सुधारका लागि नीति र कानुनमै परिमार्जन गरिनेछ : शिक्षामन्त्री पोखरेल

२०८३ असोज ०५ काठमाडौँ I शिक्षामन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधि एवम् खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गरी सुधार ल्याउन नीतिगत तथा कानुनी व्यवस्था गरिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले आधारभूत, उच्च र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको स्पष्ट पारे । कतिपय प्राविधिक शिक्षालयहरूमा अभिभावक र विद्यार्थीको चासो कम देखिएकाले भर्ना दर न्यून रहेको स्वीकार गर्दै उनले यस क्षेत्रको समग्र सुधारका लागि नीति र कानुनमै आवश्यक परिमार्जन गरिने प्रतिबद्धता जनाए ।

यसैगरी, मन्त्री पोखरेलले चीन र नेपालबीचको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका खेलाडी आशिष राईलाई सरकारले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

सन् २०२५ फेब्रुअरी १५ मा भएको खेलका क्रममा घाइते भई थाइल्यान्डमा उपचाररत राईलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको बजेटबाट सहयोग गर्ने निर्णय भएको हो ।

उनले खेलाडी कल्याणकारी कोष सञ्चालनसम्बन्धी मापदण्डको मस्यौदा राखेपले तयार पारिसकेको र सो मापदण्ड स्वीकृत हुनासाथ घाइते खेलाडी राईलाई थप आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अगाडि बढिसकेकोसमेत संसद्‌लाई जानकारी गराए ।

advertisement_1680627680.gif