राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ १०, काठमाडौं । घरेलु बजारमा लामो समयदेखि बढिरहेको बहुमूल्य पहेँलो धातु सुन र चाँदीको मूल्यमा साताको पहिलो दिन आइतबार भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
मूल्यमा आएको यो ठूलो गिरावटका कारण आज छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि गत हप्ताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट दर्ता भएको छ । महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आइतबार चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन अर्थात् शुक्रबार बजार बन्द हुँदा चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा खरिद-बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् ।