राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २५ काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने यस वर्षको बडादशैं पर्व आजबाट औपचारिक रुपमा सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमामा समापन हुने यो भव्य उत्सव १५ दिनसम्म मनाउने गरिन्छ ।
घटस्थापना भनेर चिनिने पहिलो दिन घरपरिवारमा दीप प्रज्वलन, पवित्र कलश (कलश) र भगवान गणेशको पूजाआजा गरी पर्वको आरम्भ हुन्छ। पर्वको केन्द्र बिन्दु शक्ति र शक्तिको प्रतीक देवी दुर्गाको आह्वान हो।
आज बिहान सबेरै परम्परागत दैनिकी अनुष्ठान गर्दै मानिसहरूले नजिकैको खोला वा उपयुक्त स्थानबाट माटो वा बालुवा सङ्कलन गरी गाईको गोबर मिसाएर पूजा कोठा वा दसैं घरमा विधिवत रूपमा राखिन्छ र जौ को बीउ रोपिन्छ,जुन समृद्धिको प्रतीक हो । यी जौका टुक्राहरू, जसलाई जमरा पनि भनिन्छ। देवीलाई जमरा चढाएपछि समृद्धि र आशीर्वादको प्रतीकका रूपमा विजयादशमीको अन्तिम दिन टीकाप्रसादसहित वितरण गरिन्छ । आयुर्वेदिक चिकित्सामा पनि जमराको महत्व छ ।
घटस्थापनाको एक भागको रूपमा, देवी दुर्गाको सम्मानमा कलश स्थापना र पूजा गरिन्छ, जसको आशीर्वाद चाडभरि खोजिन्छ। त्यसपछि विजयादशमीमा कलश जल प्रसादको रूपमा चढाइन्छ । यस वर्ष घटस्थापनाको शुभ साइत आज बिहान ११ बजेर ४७ मिनेटमा रहेको नेपाल पञ्चाङ समितिले जनाएको छ ।
यस दिन घरको पूजाकोठा वा दशैं घरमा पवित्र बालुवा र माटो मिसाएर उसमा जौ, गहुँ, मकै वा धान छर्ने गरिन्छ । यसलाई ‘जमरा’ भनिन्छ, जुन विजयादशमीका दिन टीका लगाउँदा मान्यजनको हातबाट प्रसादको रूपमा लगाइन्छ ।
घटस्थापनाका दिन पूजाकक्षमा जलले भरिएको कलश (घट) स्थापना गरिन्छ । यस कलशमा गणेश, वरुणादी देवता र नवदुर्गाको आह्वान गरी पूजा गरिन्छ । कलशको माथि आँप वा अशोकको पालव (पल्लव) राखेर त्यसमाथि नरिवल राखिन्छ । घडालाई ब्रम्हा, विष्णु र महेशसहित सम्पूर्ण देवी-देवता, सागर, सप्तद्वीप र तीर्थहरूको प्रतीक मानिन्छ । यसमा जल राखेर तामा वा माटो माथि जौ छर्ने ठाउँ बनाइन्छ । यस दिनदेखि नवरात्रभरि (नौ रात दश दिन) शक्ति स्वरूपा नवदुर्गा भवानी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)को विधिपूर्वक आह्वान र आरधाना गरिन्छ ।
घटस्थापनामा उमार्ने गरिने जौको जमरालाई आयुर्वेदमा औषधीय गुणले युक्त मानिन्छ । जमराको रस स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । महान चाडपर्वको सुरुआतसँगै घर टोल सरसफाइ गर्ने, पूजापाठ र सकारात्मक वातावरण सिर्जना गर्ने परम्पराले मानसिक ताजगी र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । घटस्थापनाले व्यक्तिभित्र रहेका नकारात्मक प्रवृत्ति, अहङ्कार र विकारहरूलाई हटाएर सदाचार, शक्ति र सकारात्मक ऊर्जा प्राप्त गर्ने प्रेरणा प्रदान गर्दछ ।
नौ दिनको यो अवधिलाई साधकहरूले आत्मिक शुद्धता, संयम र मानसिक एकाग्रताको समयको रूपमा लिन्छन् । यस अवधिमा मन, वचन र कर्मले शुद्ध भएर देवीको उपासना गर्नाले घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।