बुधबार, २७ जेष्ठ, २०८३

टी–२० अलराउन्डरको चौंथो स्थानमा उक्लिए दिपेन्द्र

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

टी–२० अलराउन्डरको चौंथो स्थानमा उक्लिए दिपेन्द्र

२०८३ जेष्ठ २७, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रियको नयाँ वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आइसिसीको ताजा वरियता अनुसार दीपेन्द्रले अलराउन्डरतर्फ एक स्थान सुधार गर्दै चौथो स्थान सुरक्षित गरेका हुन् ।

यसअघि उनी आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए। नयाँ वरियता अनुसार जिम्बावेका सिकन्दर राजा शीर्ष स्थानमा यथावत् छन् भने भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा रहेका छन्। त्यस्तै, अफगानिस्तानका अजमतुल्लाह ओमरजाई शीर्ष पाँचभित्र अटाएका छन् ।

दीपेन्द्रले अलराउन्डरसँगै बलिङतर्फ पनि लोभलाग्दो सुधार गरेका छन्। उनी १५ स्थान छलाङ मार्दै बलिङ वरियताको ६२ औं स्थानमा पुग्न सफल भएका छन्। यद्यपि, ब्याटिङतर्फ भने दीपेन्द्रसहित नेपालका एकदिवसीय कप्तान रोहित पौडेल र आसिफ शेखको वरियता केही खस्किएको छ ।

ताजा वरियता अनुसार अन्य नेपाली खेलाडीहरूको स्थानमा भने निकै उतारचढाव देखिएको छ । नेपाली टोलीका ओपनर कुशल भुर्तेल अलराउन्डरतर्फ ४ स्थान तल झर्दै २७ औं स्थानमा पुगेका छन्। त्यस्तै कप्तान रोहित पौडेल ६ स्थान ओर्लिएर ५२ औं र गुल्सन झा ६ स्थान खस्कँदै ८१ औं स्थानमा पुगेका छन् ।

तर, राष्ट्रिय टोलीमा पुनरागमन गरेका कुशल मल्लले भने अलराउन्डरतर्फ सानदार सुधार गरेका छन् । यसअघि शीर्ष १०० भित्र नअटाएका मल्लले ९ स्थान सुधार गर्दै ९३ औं स्थानमा आउन सफल भएका छन् ।

यसैगरी बलिङतर्फ प्रतिबन्धपछि टोलीमा फर्किएका स्पिनर सन्दीप लामिछानेले ९ स्थान सुधार गर्दै ४९ औं स्थानमा उक्लिन सफल भएका छन्। ब्याटिङतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आफूलाई सुरक्षित गरेका छन्। समग्रमा आइसिसीको यो नयाँ वरियताले नेपाली क्रिकेट खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र उतारचढावपूर्ण लयलाई प्रस्ट्याएको छ।

advertisement_1676553851.gif