सोमबार, ११ जेष्ठ, २०८३

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक: रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ श्रेणीमा

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक: रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ श्रेणीमा

२०८३ जेष्ठ ११, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्र्याक्ट) र वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले इतिहासमै पहिलोपटक 'ए प्लस' (A+) क्याटेगोरी थप गर्दै पुरुषतर्फ ३८ र महिलातर्फ २५ गरी कुल ६३ खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको हो ।

क्यानको नयाँ व्यवस्था अनुसार शीर्ष श्रेणी अर्थात् 'ए प्लस' मा तीन जना खेलाडी परेका छन्। जसमा एकदिवसीय टोलीका कप्तान रोहितकुमार पौडेल, टी-२० टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने रहेका छन् । यसअघिका वर्षहरूमा क्यानले 'ए' सम्म मात्र वर्गीकरण गर्ने गरेकोमा यसपटक खेलाडीको प्रदर्शन र योगदानलाई कदर गर्दै नयाँ श्रेणी थपेको हो ।

नयाँ वर्गीकरणसँगै क्यानले खेलाडीहरूको मासिक पारिश्रमिकमा समेत परिमार्जन गरेको छ । 'ए प्लस' श्रेणीमा परेका रोहित, दीपेन्द्र र सन्दीपले जनही मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

पुरुषतर्फका अन्य श्रेणी र पारिश्रमिक यस प्रकार छ

'ए' श्रेणी (मासिक १ लाख रुपैयाँ): आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी।'बी' श्रेणी (मासिक ७५ हजार रुपैयाँ): आरिफ शेख, भीम सार्की, गुल्शन झा, ललित राजवंशी र नन्दन यादव।'सी' श्रेणी (मासिक ५५ हजार रुपैयाँ): कुशल मल्ल, विनोद भण्डारी, अनिल साह, अर्जुन कुमाल, बासिर अहमद, हेमन्त धामी, ईशान पाण्डे, लोकेश बम, शाहब आलम, शेर मल्ल र सुन्दीप जोरा (कुल ११ खेलाडी)।'विकास' (डेभलपमेन्ट) समूह (मासिक ३५ हजार रुपैयाँ): देव खनाल, प्रतिश जिसी, अर्जुन साउद, आकाश चन्दसहित १५ खेलाडी।महिलातर्फ इन्दु, पूजा, रुबिना र सीता ‘ए’ श्रेणीमा
क्यानले महिला खेलाडीतर्फ २५ जनालाई चार श्रेणी (ए, बी, सी र डेभलपमेन्ट) मा विभाजन गरेको छ । महिलातर्फको शीर्ष श्रेणी अर्थात् 'ए' मा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर अटाएका छन् । 'ए' श्रेणीमा रहेका महिला खेलाडीले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक पाउने क्यानले जनाएको छ। त्यस्तै 'बी' श्रेणीकाले ४० हजार, 'सी' का ले ३० हजार र डेभलपमेन्ट समूहका खेलाडीले मासिक २५ हजार रुपैयाँ पाउनेछन् ।

म्याच फीको पनि व्यवस्था

मासिक पारिश्रमिकका अतिरिक्त क्यानले खेलाडीहरूका लागि म्याच फी (खेल भत्ता) को समेत घोषणा गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय एकदिवसीय (ODI) खेलबापत प्रतिखेल १५ हजार रुपैयाँ र टी-२० अन्तर्राष्ट्रिय (T20I) खेलबापत प्रतिखेल १० हजार रुपैयाँ म्याच फी निर्धारण गरिएको छ । यो नियम पुरुष र महिला दुवै टोलीका खेलाडीहरूमा समान रूपमा लागू हुने क्यानले जनाएको छ। यो नयाँ वर्गीकरण सन् २०२६ भरिका लागि लागू हुनेछ ।

advertisement_1676553851.gif