राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ असार ०१, काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स जापानसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
डलास रंगशालामा खेलिएको खेलमा नेदरल्यान्ड्सले सुरुवाती गोलको अग्रता लिएको थियो ।
रोमाञ्चक खेलको पहिलो हाफको ४५ मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् ।
दोस्रो हाफको ५१ औं मिनेटमा नेदरल्यान्ड्सले सफलता पायो । भर्जिल भान डिज्कले रायन ग्रेभेनबर्चको फ्रिकिकबाट उत्कृष्ट हेडर गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए । तर, जापानका ५७ औं मिनेटमा केइटो नाकामुराले हेड गर्दै १–१ गोलको बराबरी बनाए ।
जापानले बराबरी गोल गरेको सात मिनेटपछि नेदरल्यान्ड्सले फेरि अग्रता लिएको थियो । नेदरल्यान्ड्सका क्रिसेन्सियो सोमरभिलले ६४ औं मिनेटमा दोस्रो गोल गरे । यो गोलसँगै नेदरल्यान्ड्स २–१ ले अगाडि बढ्यो ।
खेल सकिन लागेको थियो र नेदरल्यान्ड्स जितको नजिक देखिएको थियो, तर ८९ औं मिनेटमा जापानका कोकी ओगावाको कर्नर प्रहारलाई दाइची कामदाले गोलमा परिणत गरे ।
यो गोलले जापानलाई दोस्रो बराबरी गोल दिलायो । इन्जुरी समयमा दुवै टोलीले विजयी गोल गर्ने प्रयास गरे, तर दुवै टोली सफल भएन र खेल २–२ को बराबरीमा सकियो ।
यो बराबरीसँगै नेदरल्यान्ड्स र जापान दुवैले एक–एक अंक प्राप्त गरेका छन् ।