बुधबार, २१ आश्विन, २०८३

गाउँमा सूचना सुनाउने पुरानो ‘कटवाले’ परम्परा अझै जीवित

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

गाउँमा सूचना सुनाउने पुरानो ‘कटवाले’ परम्परा अझै जीवित

२०८३ असोज २१  माधव पाण्‍डेय, पाल्पा । सञ्चारका आधुनिक माध्यमको पहुँच गाउँगाउँसम्म पुगे पनि पाल्पाको पूर्वखोला गाउँपालिकाका केही क्षेत्रमा पुस्तौँ पुरानो ‘कटवाले’ परम्परा अझै जीवित रहेको छ ।

पहिले गाउँमा माइक, फोन तथा सामाजिक सञ्जालजस्ता सञ्चारका माध्यम उपलब्ध थिएनन् । त्यसबेला गाउँका महत्वपूर्ण सूचना सबैलाई जानकारी गराउन डाँडामा उभिएर ठूलो स्वरमा कराउँदै गाउँभरि सुनाउने गरिन्थ्यो । यसरी गाउँमा सूचना सुनाउने व्यक्तिलाई ‘कटवाले’ भन्ने गरिन्थ्यो ।

गाउँमा हुने बैठक, चाडपर्व, सार्वजनिक काम, भेला तथा अन्य महत्वपूर्ण गतिविधिबारे जानकारी गराउन कटवालेको भूमिका महत्वपूर्ण हुने गरेको स्थानीयको भनाइ छ । सूचना सुनाउन अग्लो डाँडा वा खुला स्थानमा पुगेर ठूलो स्वरमा आवाज लगाउने चलन त्यसबेलाको मौलिक सञ्चार माध्यम थियो ।

पूर्वखोला गाउँपालिका–२, जल्पाका साकिने, मैदान र साठीकोल क्षेत्रमा अहिले पनि विभिन्न अवसरमा यही परम्पराअनुसार सूचना सुनाउने गरिन्छ । विशेषगरी चाडपर्व तथा स्थानीय गतिविधिबारे गाउँलेलाई जानकारी गराउन डाँडाबाट ठूलो स्वरमा आवाज लगाउने परम्परा केही हदसम्म कायम रहेको छ ।

स्थानीय यामबहादुर सारुका अनुसार प्रविधिको विकाससँगै सूचना आदानप्रदान गर्ने तरिका परिवर्तन भए पनि गाउँको पुरानो परम्परा पूर्णरूपमा हराएको छैन । पहिले गाउँमा सूचना पुर्‍याउने मुख्य माध्यम नै कटवाले भएकाले डाँडामा उभिएर चिच्याउँदै गाउँभरि जानकारी गराउने गरिन्थ्यो ।

“अहिले फोन र सामाजिक सञ्जालबाट केही सेकेन्डमै सूचना पुग्छ । तर पुरानो कटवाले परम्परा हाम्रो गाउँको इतिहास र पहिचानसँग जोडिएको छ,” सारुले बताए ।

आधुनिक सञ्चार प्रविधिको तीव्र विकाससँगै हराउँदै गएका यस्ता मौलिक परम्पराहरू अहिले धेरै ठाउँमा सम्झनामा मात्र सीमित छन् । तर पूर्वखोलाका केही क्षेत्रमा अझै सुनिने कटवालेको आवाज भने गाउँको पुरानो सञ्चार संस्कृति र मौलिक पहिचानको जीवन्त सम्झना बनेको छ ।

advertisement_1676551537.gif