शुक्रबार, ६ मंसिर, २०८२

कल्पना खरेलको ‘रानी तलाउ’ लाई एक हजार अमेरिकी डलरको पुरस्कार ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ श्रावण, २०८०

कल्पना खरेलको ‘रानी तलाउ’ लाई एक हजार अमेरिकी डलरको पुरस्कार ।

नेपालगन्ज । बाँके जिल्लाका साहित्यकार कल्पना खरेलको उपन्यास “रानी तलाउ”ले एक हजार डलरको पुरस्कार प्राप्त गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ उपन्यास “रानी तलाउ”का लागि उपन्यासकार खरेललाई उक्त पुरस्कार दिइएको हो । 

जुलाई १५ शनिवार साँझ अमेरिका स्थित अनेसासको केन्द्रीय कार्यसमितिद्वारा जुमको माध्यमबाट आयोजित ३१ औं वार्षिक उत्सव तथा २१० औं भानु जयन्ति समारोहमा उक्त पुरस्कार घोषणा गरिएको उपन्यासकार खरेलले जानकारी दिनुभयो । अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाको अध्यक्षतामा सम्पन्न समारोहमा अनेसासको वार्षिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना पनि प्रस्तुत गरिएको थियो । अनेसास विश्वभरका साहित्यकारहरुको छाता संगठन हो । खरेल उक्त अनेसासको लुम्बिनी प्रदेश समितिकी निवर्तमान अध्यक्ष हुनुहुन्छ भने अहिले उक्त समितिको अध्यक्ष साहित्यकार किरण आचार्य हुनुहुन्छ । 

उल्लेखनीय छ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनवरी २४ मा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयको संयोजकत्वमा डा. विजयराज शर्मा, सन्ध्या पहाडी, ईश्वरीप्रसाद भट्ट र दीपा राई पुन सदस्य रहेको अनेसास पुरस्कार समिति गठन गरिएको थियो । सोही समितिको सिफारीस अनुसार पुरस्कारको घोषणा गरिएको हो ।

‘रानीतलाउ’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकी उपन्यासकार खरेलले यो उपन्यास मार्फत् समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको बताउनु हुन्छ ।
सामाजिक अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी खरेलले सर्वोत्कृष्ट पुरस्कार पाउन सफल हुनु भएको हो ।

खरेलले रानी तलाउ उपन्यास मार्फत् पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालाई आकर्षक ढङ्गले उठान गर्नु भएको छ । सबैभन्दा ठूलो कुरा यसमा मानव आत्माको कुनै जात हुँदैन भन्ने कुरालाई उजागर गर्न खोजिएको बताउँदै उहाँले यही कुरा सुन्दर ढङ्गले उपन्यासमा चित्रण गर्नु भएको छ ।

उसैगरि उपन्यासकार कल्पना खरेललाई यसवर्षको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ पनि प्रदान गरिने भएको छ । २०८० का लागि शब्दयात्रा प्रकाशनले यो पुरस्कार खरेल र र भवानी पाण्डेलाई प्रदान गर्न लागेको हो ।सुमन तिम्सिनाले अनेसास मार्फत् स्थापना गरेको यो पुरस्कार महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्तिका अवसरमा आयोजित विशेष कार्यक्रममा उपन्यासकार खरेललाई प्रदान गरिनेछ ।

शब्दयात्रा प्रकाशनले खरेल र पाण्डेलाई संयुक्त रूपमा पुरस्कार समर्पण गर्ने घोषणा गरेको हो । साहित्यकार अमर त्यागीद्वारा स्थापना गरिएको कोषबाट उक्त पुरस्कारमा ८÷८ हजार रुपैयाँ, अभिनन्दन पत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिने कुरा घोषणामा उल्लेख गरिएको छ ।

कल्पना खरेलका रानी तलाउ लगायत सात वटा कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।

साहित्यकार खरेलको शब्दरहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचना लगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् । कल्पना खरेल नेपालगन्ज स्थित जी. नेपाल प्द्ध टेलीभिजनको भावसरोवर साहित्यिक कार्यक्रमको प्रस्तोता पनि हुनुहुन्छ ।


स्मरणीय छ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न पुरस्कारहरु स्थापना गरेको छ । गत मार्च १०–१२, २०२३ मा ‘अनेसास आदर्श गुरूआमा सम्मान–२०२३’बाट न्यूयोर्कमा रहेको सरल नेपाली पाठशालाकी प्रशिक्षक पदमा लिङखा मगरलाई नगद ४ सय डलर र सम्मान–पत्र एवम् भर्जिनियामा रहेको शिक्षा सदन पाठशालाकी जानु ओझालाई नगद २ सय डलर र सम्मान–पत्रसहित बोस्टनमा सम्पन्न महिला सम्मेलनमा सम्मान गरिएको थियो ।


विदेशमा बसेर निःस्वार्थ रूपमा भाषा पाठशाला सञ्चालन गरेर निरन्तर नेपाली भाषा तथा कला प्रशिक्षणमा योगदान पुर्याउने शिक्षिकालाई पहिलो पटक अनेसासबाट सम्मान गरिएको थियो ।
पुरस्कार संयोजक अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार कुनै पनि  राज्यमा दर्ता भएर संचालनमा रहेको मुनाफारहित भाषा–साहित्य–कला प्रशिक्षण संस्था, पाँच वर्षदेखि निरन्तर सञ्चालनमा आएको, ५० भन्दा बढ़ीको संख्यामा बालबालिका रहेको, पाँच जनाभन्दा बढ़ी स्वयम्सेवक शिक्षक वा शिक्षिका रहेको पाठशालालाई चयनको आधार मानिएको थियो ।


 

कल्पना खरेलको ‘रानी तलाउ’ लाई एक हजार अमेरिकी डलरको पुरस्कार ।

advertisement_1676553908.gif