राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २० आश्विन, २०८३
२०८३ असोज २० काठमाडौँ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको नवगठित वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयन प्रक्रियामा शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिएका हुन् । उनले आफ्नो तर्फबाट पुष्पराज पौड्याललाई वारेस बनाएर निर्वाचन समितिमा मनोनयन फाराम दर्ताका लागि पठाएका छन् ।
शर्माको उम्मेदवारीमा झापाका उद्धव थापा प्रस्तावक र सुनसरीका केदार भण्डारी समर्थक रहेका छन् । त्यस्तै, झापाका सुधीर सिवाकोटी र देउकुमार थेवे पनि उनको उम्मेदवारीका समर्थक रहेका छन् ।
कांग्रेसले यसै महाधिवेशनबाट विधान संशोधन गरी वरिष्ठ उपसभापति पद थप गरेको हो । नयाँ संरचनाअनुसार पहिलोपटक कायम गरिएको यो पदमा शर्माले उम्मेदवारी दिएका हुन् ।
१५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ कार्यसमिति चयन गर्दैछ । त्यसका लागि सभापतिसहित विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् ।