शनिबार, ९ जेष्ठ, २०८३

व्यवसायी भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ बैशाख, २०८३

व्यवसायी भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

२०८३ बैशाख २१, काठमाडौं । प्रहरी हिरासतमा रहेका चर्चित व्यवसायीद्वय दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनीहरूका परिवारले दायर गरेको रिटमा सर्वोच्चले आज छुट्टाछुट्टै इजलासमा पेसी तोकेको हो ।

दीपक भट्ट: भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको छ।गोल्छाकी पत्नी सिमा गोल्छाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ ।

भट्टलाई गत चैत १९ गते सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो। उनीमाथि शंकास्पद आर्थिक कारोबार र स्रोत नखुलेको सम्पत्ति परिचालन गरेको आरोपमा विभागले छानबिन गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई सेयर खरिद-बिक्रीमा चलखेल गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिएको हो । नेपाल धितोपत्र बोर्ड (SEBON) को छानबिन प्रतिवेदनले गोल्छामाथि भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र बजार प्रभावित पारेको कैफियत देखाएपछि सीआईबीले उनलाई हिरासतमा लिएको थियो ।

दुवै व्यवसायीका परिवारले उनीहरूलाई थुनामा राखिराख्नुपर्ने पर्याप्त आधार र कारण नभएको भन्दै तत्काल थुनामुक्त गर्न (बन्दी प्रत्यक्षीकरण) माग गरेका छन् । आजको सुनुवाइपछि सर्वोच्चले उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिने वा रिहा गर्ने आदेश दिने भन्नेबारे निक्र्योल गर्नेछ ।

advertisement_1676553908.gif