शनिबार, ९ जेष्ठ, २०८३

ट्रेड युनियनका कार्यालय बन्द गर्न र सरकारी सुविधा फिर्ता लिन परिपत्र

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

ट्रेड युनियनका कार्यालय बन्द गर्न र सरकारी सुविधा फिर्ता लिन परिपत्र

२०८३ बैशाख २२, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएसँगै सम्बन्धित कार्यालयहरू बन्द गर्न र सरकारी सेवा-सुविधा फिर्ता लिन परिपत्र जारी गरेको छ । 

मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी परिपत्रमा सचिवस्तरीय निर्णयअनुसार उक्त निर्देशन दिइएको हो ।

मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूलाई सम्बोधन गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ५३ अन्तर्गत रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था अध्यादेशमार्फत खारेज भएको जानकारी गराएको छ । सोही व्यवस्थाअनुसार निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत) का विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गर्न भनिएको छ ।

परिपत्रमा ती समितिहरूले प्रयोग गर्दै आएका कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका सेवा–सुविधा तथा सरकारी सम्पत्ति फिर्ता लिन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । साथै, ट्रेड युनियनका विभिन्न तहका समितिमा आबद्ध कर्मचारीलाई तोकिएको दरबन्दीअनुसारको नियमित कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

मन्त्रालयका अनुसार उक्त व्यवस्था २०८३ वैशाख २२ गतेको सचिवस्तरीय निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो। परिपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ ।

संघमा ठूला दलसम्बद्ध दलगत ट्रेड युनियनहरूले सरकारी जग्गामै भवन निर्माण गरी सञ्चालन ल्याएका छन् भने कतिपयले भाडामासमेत लगाएको बुझिएको छ । त्यसैगरी मन्त्रालयहरूमा मन्त्रालयपिच्छे एकदेखि दुईवटा कोठाहरूमा मन्त्रालयगत कार्यालयहरू स्थापना गरिएका छन् । 

त्यस्तै पदाधिकारीहरूको कामकाज तथा गाडीलगायत सुविधाहरुपनि दिइने गरेकोमा अव सोसमेत फिर्ता गरी दरबन्दी रहेको कार्यालयमा खटिई काम गर्नुपर्ने छ ।

advertisement_1676551537.gif