बुधबार, २१ आश्विन, २०८३

प्रतिनिधिसभाबाट तीनवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १५ आश्विन, २०८३

प्रतिनिधिसभाबाट तीनवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

२०८३ असोज १५ काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तिनवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको  छ ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक २०८३ र भुक्तानी तथा फर्छ्यौट पहिलो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो । 

यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८३ पेस गरे ।

त्‍यस्‍तै  प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सांसद घनेन्द्र बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभा क्षेत्र नं २ बाट र २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रजातन्त्र र लोकतन्त्र स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका बस्नेतको ७४ वर्षको उमेरमा यही असोज १४ गते निधन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि असोज १६ गते शुक्रवार ११ बजे बस्नेछ ।

advertisement_1680627706.gif