राष्ट्रिय सन्देश संबाददाता, ५१ मिनेट पहिले
२०८३ असोज २५ काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।
बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको परिस्थितिलाई मध्यनजर गर्दै उनले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका हुन् ।
निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामा पूर्वराजा शाहले यस वर्षको दशैं सादगीपूर्वक मनाउने निर्णय गरेको जनाइएको छ ।
सूचनामा गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौं मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको उल्लेख छ । प्राकृतिक विपद्का कारण ठूलो जनधनको अपूरणीय क्षति भएको असहज परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ ।