शुक्रबार, ६ मंसिर, २०८२

नेपालका लागि एआई विलासिता होइन, समानता, रुपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ श्रावण, २०८२

नेपालका लागि एआई विलासिता होइन, समानता, रुपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ

१० साउन २०८२, काठमाडौँ । सचीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका छन् ।

चीनको सांघाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई आज सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरे । सञ्चारमन्त्री गुरुङले भने, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा छ ।”

सम्मेलनअन्तर्गत विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकमा उनले पारदर्शीता, समावेशिता, जबाफदेहिता र एआईको गैर–सैनिकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसंघ नेतृत्वको चार्टर्डलाई समर्थन गर्ने बताए । “एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्दछौँ ”, उनले भने ।

सम्बोधनका क्रममा मन्त्री गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव केन्द्रित विकासका लागि एआई रहेको बताए । उनले भने, “नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ । अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ ।”

एआईसम्बन्धी विश्व सम्मेलनमा मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री गुरुङले भने, “नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो । हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडी बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस् ।”

करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “एआईको क्रममा मानवताबिना प्रविधि अराजकता हो, नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्नपर्छ । नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ । हामी सबै राष्ट्रहरू ठूला र सानालाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौँ ।एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो ।”

advertisement_1676551537.gif