राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २१ बैशाख, २०८३
२०८३ बैशाख २१, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साढे १० बजे बोलाइएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतका अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् ।
त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ । ‘४ वटा मन्त्रालय खारेज भएर ६ वटाको नाम फेरिनेछन् । केहीलाई भने हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले त्यससम्बन्धी खाका आजको मन्त्रिपरिषद् बैठकमा पेस हुने जनाकारी दिए ।
मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।
कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको बताएको छ ।
सरकारले युवा तथा खेलकुद, खानेपानी, सहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयहरूलाई अन्यसँग गाभ्ने र सूचना प्रविधि तथा विज्ञान-प्रविधि जस्ता रणनीतिक क्षेत्रलाई प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा लैजाने योजना बनाएको छ ।