राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २६ बैशाख, २०८३
२०८३ बैशाख २६, काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा (एमाले) सँगको वर्तमान सत्ता सहकार्य तत्काल नटुट्ने स्पष्ट पारेका छन्। ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस र एमाले मिलेर बनेको समीकरणको विकल्प नरहेको दाबी गरे।
विभिन्न प्रदेशहरूमा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला थापाको यस्तो अभिव्यक्ति आएको हो। उनले भने, "अहिलेको अंकगणित र राजनीतिक अवस्था हेर्दा कांग्रेस र एमालेबाहेक अर्को सरकार बन्ने अवस्था छैन। त्यसैले यो सहकार्य निरन्तर अगाडि बढ्छ।
सभापति थापाले एमाले नेतृत्वसँग सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा नियमित संवाद भइरहेको जानकारी दिए। प्रदेश सरकारहरूले प्रभावकारी र सही ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले मधेश प्रदेशमा समेत अन्य दलहरूसहित छलफल जारी रहेको बताए।
पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा कडा रूपमा प्रस्तुत हुँदै थापाले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेलाई कारबाही गरिने बताए।नेतासँग व्यक्तिगत असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिन भन्न पाइँदैन," उनले चेतावनी दिए, "त्यस्तो गतिविधिमा संलग्न देखिएका नेता तथा कार्यकर्तालाई केही समयका लागि जिम्मेवारीबाट बाहिर राखिनेछ।
थापाले कांग्रेस कार्यकर्ताहरूलाई 'पराजित मानसिकता' बाट बाहिर निस्किन आग्रह गरे। नयाँ जिम्मेवारी र सिर्जनशील सोचका साथ संगठन निर्माणमा जुट्न उनले आह्वान गरे। पार्टीलाई बलियो बनाउन तल्लो तहदेखि नै कार्यकर्ताहरू सक्रिय हुनुपर्ने उनको भनाइ थियो।