राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २४ बैशाख, २०८३
२०८३ बैशाख २४, काठमाडौं । गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बित भएका छन् ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा घिमिरेसहित १४ जनाविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी निलम्बित भएका हुन् ।
उनी तत्कालीन समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत रहेका बेला कर छुटसम्बन्धी निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अख्तियारले लगाएको हो ।
अख्तियारले उक्त प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई पनि प्रतिवादी बनाएको छ। त्यसैगरी पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी, महेश्वर न्यौपाने र सुरेश आचार्य विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा उपकरण तथा सामग्री आयातमा दिइएको कर छुट प्रक्रियामा कानुनविपरीत निर्णय गरिएको र त्यसबाट राज्यलाई आर्थिक हानि पुगेको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
भ्रष्टाचार निवारण ऐनअनुसार बहालवाला राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार घिमिरे हाल प्रमुख सचिवको जिम्मेवारीबाट निलम्बित भएका हुन् ।